बागमती गोल्डकपको तयारी तीब्र

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा हुने बागमती गोल्डकप फुटबल प्रतियोगिताको पाँचौँ संस्करणको तयारी तीब्र गतिमा भइरहेको छ । यहि पौष २४ गतेदेखि हुने प्रतियोगिता बागमती गाउँपालिका–८ को जनता उच्च माविको खेलमैदान हुनेछ ।
प्रतियोगिताको लागि अहिले खेलमैदान सजाउँने काम धमाधम भईरहेको बागमती खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठले जानकारी दिनुभयो । खेल मैदान सम्याउने र खेल मैदान जोखिम मुक्त बनाउने, घाँस उमार्ने काम देखि रंगरोगन लगाउने कार्य भईरहेको श्रेष्ठले बताए ।
१० दिन सम्म सञ्चालन हुने प्रतियोगितामा ३० हजार दर्शक रहने अनुमान छ’, उनले भने, ‘भीआईपी प्याराफिट सहित खेलमैदानमा एकै पटकमा ३५ सय दर्शक अट्ने क्षमता छ । २०७४ सालमा १ लाख प्रथम पुरस्कारबाट सुरु भएको गोल्डकप पाँचौँ संस्करणसम्म आइ पुग्दा पुरस्कार राशि बढाएर ८ लाख पुर्याइएको छ ।
प्रतियोगितामा आयोजक बागमती गाउँपालिका, मकवानपुर–११, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, मछिन्द्र युवा क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज युथ क्लब, जावलाखेल युथ क्लब र अमेरिकी टिम भुट्निज युथ स्पोट्र्सको सहभागी रहने छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ८ लाख र उपविजेताले नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ, विधागत उत्कृष्ट खेलाडीहरुले जनही १०–१० हजार रुपैयाँ र हरेक खेलको म्यान अफ द म्याच हुने खेलाडीले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको फाइनल खेल माघ ३ गते हुने जानकारी गराउँदै आर्थिक संकलन समिति इन्चार्ज मनोज बलले भन्नुभयो,‘हामी प्रतियोगिताको तयारीमा जुटिरहेका छौँ, करिब अन्तिम तयारीमा पुग्यौँ भन्दा नि फरक पर्दैैन ।’ प्रतियोगिता हेर्नको लागि विद्यार्थीलाई निःशुल्क रहेको छ भने अन्यलाई खेलको पहिलो चरणमा प्रति व्यक्ति ५० रुपैयाँ,सेमिफाईन खेलबाट १ सय रुपैयाँ र फाईनल खेलमा २ सय टिकट दर राखेको आयोजकले जनाएको छ ।
तियोगितामा करिब ७१ लाख खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताका लागि बागमती गाउँपालिकाले ३५ लाख रुपैयाँ बजेट छुट्याएको छ । साविक विजेता थ्री स्टार क्लब भने पाँचौं संस्करणको प्रतियोगितामा सहभागी नहुने भएको छ । चौथो संस्करणमा विदेशी टिम क्यामरुनलाई हराउँदै थ्रीस्टारले उपाधि जितेको थियो ।