गाउँपालिका अध्यक्षलाई साढे ३ वर्ष कैद फैसला

तु खबर संवाददाता
२०७९ पुष १९, मंगलवार ०८:१७
file-photo

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागूऔषध कारोबारमा सोमबार ३ वर्ष ६ महिना कैद सजाय र रु ५० हजार जरिवानाको फैसला भएको छ । घर्तीलाई लागूऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा.दिवाकर भट्टको इजलासलेउक्त फैसला गरेको हो ।

जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीका अनुसार, नसीखोला –६ को वडाध्यक्ष हुँदा विसं २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको लागूऔषध गाँजा÷चरेससम्बन्धी कसुर २०७९ पुस ३ गते ठहर भएको थियो । सोमबार जिल्ला अदालत बागलुङका न्यायाधीश डा भट्टको इजलासले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारणको गरेको हो ।

बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाई’ गर्ने व्यक्तिको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो । तत्कालीन वडाध्यक्ष घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरी २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजा/चरेस नियन्त्रण ऐन, २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो । फैसलाको पूर्णपाठ आउन बाँकी रहेको सूचना अधिकारी भण्डारीले बताए ।