प्रधानमन्त्री प्रचण्डले मंगलबार निर्देशनात्मक सम्बोधन गर्ने

तु खबर संवाददाता
२०७९ पुष १८, सोमबार १७:१७
file-photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन मंगलबार निर्देशनात्मक सम्बोधन गर्ने भएको छ । प्रधानमन्त्री पदमा नियुक्त भएपछि पहिलो पटक सरकारको काम कारबाही प्रभावकारी बनाउन सरकारका सचिवसँग उनले सोमबार छलफल गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार, प्रधानमन्त्री दाहालले सचिवका कार्यविवरण सुनिसकेपछि मंगलबार आवश्यक निर्देशन दिए ।

पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले सुशासन र नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने यसअघि नै घोषणा गरेका थिए । पुस ११ मा उनले नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गरेका थिए ।

विशेष गरी राहदानी वितरण, सवारी चालक अनुमतिपत्रलगायत सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयको कामलाई सरल र सहज बनाउने प्रधानमन्त्रीको योजनाअनुसार आज पहिलो चरणमा प्रधानमन्त्रीले सचिवहरुसँग छलफल गरेका हुन् । केही सचिव र विभागका प्रमुखले आ–आफ्नो विभागको कार्यविवरणबारे प्रस्तुति दिन बाँकी छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सचिवहरुले आ–आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गरेका थिए । उनीहरुले मन्त्रालयको नीति तथा कार्यक्रम, वार्षिक बजेट र कार्यसम्पादनमा भएका कमी तथा कमजोरीका बारेमा जानकारी गराएका थिए ।