प्रधानमन्त्रीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । आइतबार पोखरामा आयोजित एक समारोहबीच प्रधानमन्त्री दाहालले विमानस्थलको उद्घाटन गरेका हुन् ।
देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देश बाहिर समेत सन्देश दिन जनवरी १ मा उद्घाटन गरिएको जनाइएको छ ।
उद्घाटन समारोहमा व्यापक जनसहभागिता समेत भएको छ । प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री विष्णु पौडेल बिहान काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
विमानस्थल आजदेखि संचालनमा आएपनि फेब्ररुअरी २३ देखि मात्रै दैनिक १८ घन्टा चल्ने छ । यो विमानस्थल २०० हेक्टर क्षेत्रफलमा फैलिएको छ । चिनियाँ ऋण उपलब्ध यस आयोजना निर्माणमा करिब २२ अर्ब रुपैयाँ खर्च भएको छ । यस्तै, विमानस्थलमा २ हजार ५०० मिटर लम्बाई र ४५ मिटर चौडाईको धावनमार्ग छ ।
