पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजबाट संचालनमा, प्रधानमन्त्रीले उद्घाटन गर्दै
पोखरा । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थल आजबाट संचालनमा आउने भएको छ । आज अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउन लागेको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार, उक्त विमानस्थलको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने कार्यसूची रहेको छ ।
शुभारम्भ समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको वृहत् सहभागिता रहने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमले जानकारी दिए ।
विमानस्थल आजदेखि संचालनमा आएपनि फेब्रुअरी २३ देखि मात्रै दैनिक १८ घन्टा चल्ने छ । यो विमानस्थल २०० हेक्टर क्षेत्रफलमा फैलिएको छ । चिनियाँ ऋण उपलब्ध यस आयोजना निर्माणमा करिब २२ अर्ब रुपैयाँ खर्च भएको छ । यस्तै, विमानस्थलमा २ हजार ५०० मिटर लम्बाई र ४५ मिटर चौडाईको धावनमार्ग छ ।
