यो कार्यकाल भाषण कम, काम धेरै गर्नेछु : प्रधानमन्त्री

तु खबर संवाददाता
२०७९ पुष १६, शनिबार १६:४३
file-photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले यो कार्यकालमा आफूले भाषणभन्दा बढी काम गर्ने बताएका छन् । शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले भने, ‘मैले बाँकी जीवन सुशासन र विकासकालागि समर्पित गर्ने भनेको छु । म अहिले धेरै भाषण गर्ने मनस्थितिमा छैन यो कार्यकाल । म भाषण कम काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु’

प्रधानमन्त्री प्रचण्डले हरेक दिन सुशासन र विकासको पक्षमा केही न केही काम गर्दै जाने प्रतिवद्धता जनाए । सुशासन कायम गर्न, भ्रष्टाचार र बेथिती अन्त्य गर्न आफूले पहिलो मन्त्रिपरिषद बैठकबाटै निर्णय गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले जनतालाई सास्तीबाट मुक्त राख्ने आफ्नो सदैव प्रयास रहने बताए ।