बुस्टर खोपका लागि सरकारद्वारा ‘गाभी’ लाई पत्र

तु खबर संवाददाता
२०७९ पुष १५, शुक्रबार १७:३९

काठमाडौं । सरकारले छिमेकी देशमा कोरोना भाइरस (काभिड–१९) संक्रमणको जोखिम बढिरहेकाले अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि खोप ल्याउने प्रक्रिया सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुस्टर डोजका लागि खोप ल्याउन औपचारिक रुपमा ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’ लाई पत्र लेखेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख सागर दाहालले जानकारी दिए । उनका अनुसार, बिहीबार १५ लाख खोपका लागि ‘गाभी’ लाई पत्र पठाइएको हो ।

गाभीले कोभ्याक्स सुविधामार्फत नेपाललाई खोप उपलब्ध गराउनेछ । उनले खोपबारे जानकारी प्राप्त भइसकेपछि चाँडै नै खोप नेपाल ल्याउने बताए ।

सरकारले बुस्टर डोजका लागि मात्र प्रयोग हुने फाइजर खोप ल्याउन थालेको हो । औषधि व्यवस्था विभागले बुस्टर डोजका लागि मात्र प्रयोग गरिने भएकाले ‘आकस्मिक अनुमति प्रयोग’ पत्र दिएपछि खोप शाखाले कोभ्याक्सलाई पत्र पठाएको हो ।

विभागका प्रवक्ता सन्तोष केसीले बुस्टर डोजका लागि मात्र प्रयोग गर्न मिल्ने भएकाले परिवार कल्याण महाशाखाको खोप शाखालाई अनुमतिका लागि पत्र दिएको जानकारी दिए ।

साथै मन्त्रालयले संक्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन वा सेनिटाइजर नियमित प्रयोग गर्नसमेत सबैलाई आग्रह गरेको छ ।