चलचित्र तिम्रो मेरो साथको टोली हेटौंडामा
मकवानपुर । नेपाली चलचित्र तिम्रो मेरो साथको निर्माण तथा कलाकार टोली बुधबार हेटौंडा आइपुगेका छन् । यही पुस २९ गते नेपालसहित विभिन्न देशहरुमा एकसाथ प्रदर्शनको तयारीमा रहेको चलचित्र तिम्रो मेरो साथका निर्देशक तथा निर्माता रमेश पौडेल, कलाकारहरु सन्दिप क्षेत्री, पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहसहितको टोली हेटौंडा आएका हुन् ।
चलचित्र प्रेम कथामा आधारित थ्रीलर मुभि रहेको चलचित्रका निर्देशक पौडेलले बताए । लामो समय सञ्चार जगतमा रहेर काम गरेका पौडेल चलचित्रको निर्माता समेत हुन् ।
चलचित्र पुस २९ गते नेपालभर एकसाथ प्रदर्शन हुनुको साथै अमेरिकामा ३० वटा, क्यानडामा २७ वटा, अष्ट्रेलियामा १६ वटा सिनेमा हलहरुमा प्रदर्शन हुने निर्देशक पौडेलले बताए ।
चलचित्र पत्रकार संघ मकवानपुरका काव अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, संघका संस्थापक अध्यक्ष कुमार अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
