हेटौंडामा सामुदायिक कुकुरको बन्ध्याकरण शिविर सुरु
मकवानपुर । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाको आयोजनामा बुधबारबाट सामुदायिक कुकुरको दुई दिवसीय बन्ध्याकरण शिविर सुरु भएको छ ।
उपमहानगरपालिका पशु सेवा शाखाको समन्वय तथा केन्द्रिय रिफरल पशु चिकित्सालय, त्रिपुरेश्वरको प्राविधिक सहयोगमा शिविर सुरु गरिएको हो ।
शिविर हेटौंडा–९, कर्रास्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका प्रमुख डा. बज्रकिशोर ठाकुरको सभाध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो ।
बिहीबारसम्म संचालन हुने उक्त शिविरमा २०० वटा कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको केन्द्रका प्रमुख ठाकुरले जानकारी दिए ।
बन्ध्याकरण शिविरमा केन्द्रिय रिफरल पशु चिकित्सालय, त्रिपुरेश्वरका प्रमुख डा. टंक प्रसाद प्रसाई, वरिष्ठ पशु चिकित्सक डा.अर्जुन अर्याल, डा.कमल अधिकारीलगायतको सहभागीता रहेको थियो ।
