बागमती प्रदेशद्वारा बिउपुँजी योजना अन्तरगत ५५ करोड विनियोजन
मकवानपुर । बागमती प्रदेश सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउपुँजी उपलव्ध गराउने योजना अन्तर्गत रु ५५ करोड विनियोजन गरेको छ । मन्त्रालयले कृषि क्षेत्रको विकास, विस्तार र व्यवसायीकरणका लागि बिउपुँजी योजना अन्तरगत उक्त रकम विनियोजन गरेको जनाएको छ ।
मन्त्रालयका अनुसार, विनियोजित बजेट कार्यान्वयनका लागि बिउपुँजी परिचालन कार्यविधि र मापदण्डसमेत बनाइसकेको छ । मन्त्रालयले बनाएको बिउपुँजी परिचालनसम्बन्धी कार्यविधि अनुसार मातहतको कार्यालयबाट व्यावसायिक योजना पेस गरेका आधारमा योजनाको करिब २० प्रतिशत वा बढीमा एक करोडसम्म बिउँपुजी लगानी गर्न सकिने सो मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले जानकरी दिए ।
व्यावसायिक योजनालाई आधार बनाएर बिनाधितो रु १० लाखसम्म बिउँपुजी उपलव्ध गराउने कार्यविधि निर्माण भएको र १० लाखभन्दामाथिको बिउपुँजी उपलव्ध गराउँन बैंक ग्यारेन्टी आवश्यक पर्ने उनले बताए ।
व्यावसायिक योजनाअनुसार सम्झौतापछि बिउपुँजीको १० प्रतिशत, योजना बमोजिम ५० प्रतिशत, काम भइसकेपछि ४० प्रतिशत र शतप्रतिशत काम भइसकेपछि स्वीकृत बिउपुँजीको ५० प्रतिशत रकम उपलव्ध गराउने कार्यविधिमा उल्लेख छ ।
नयाँ व्यावसायिक योजनालाई प्राथमिकता दिएर मन्त्रालयले कार्यक्रम ल्याएको भए पनि पुरानो व्यवसायलाई थप विस्तारका लागि पनि बिउपुँजी उपलव्ध गराइने कार्यविधिमा उल्लेख गरिएको छ ।
कार्यविधिमा बिउपुँजी व्यवसायीले बढीमा ५ वर्षमा फिर्ता गरिसक्नुपर्ने उल्लेख गरिएको छ । बिउपुँजी लिनका लागि कुनै ब्याज तथा शुल्क नलाग्ने भएतापनि किस्ता र भुक्तानी अवधिको निर्माण बिउपुँजी परिचालन समितिले गर्ने मन्त्रालयका सचिव पाण्डेले बताए ।
कार्यविधिअनुसार सहकारी संस्थालाई दूध ढुवानीका लागि रेफ्रिजेरेटरदेखि ट्याङ्कर खरिदमासमेत बिउपुँजी परिचालन हुनेछ । बिउपुँजी लिएर बाख्रा, बङ्गुर, र गाईपालनका लागि पशुको संख्या, गोठ तथा खोरको आकार र बनावटलगायतको विषय तोकेर मन्त्रालयले मापदण्डसमेत बनाएको छ ।
