हेटौंडाका न्यौपानेलाई चक्कु प्रहार गर्ने दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले चक्कु प्रहार गर्ने हेटौंडाका दुई जनालाई आईतबार पक्राउ गरेको छ । हेटौंडा–२ बस्ने अन्दाजी ३० वर्षीय डानियल न्यौपानेलाई चक्कु प्रहार गरी फरार रहेका हेटौंडाका दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा हेटौंडा–६ कमाने बस्ने ३० वर्षीय अशिम बर्तौला र हेटौंडा–५ सानोपोखरा बस्ने २५ वर्षीय हेमन्त थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, गत मंसिर २६ गते हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ वन कार्यालय नजिकै भित्रि सडकखण्डमा प्रदेश३–०१–०२३च ६१५३ नं.को निशान गाडिमा सवार उनीहरुले न्यौपानेलाई एक्कासि कोखामा चक्कु प्रहार गरी घाईते गराई फरार रहेका थिए ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका न्यौपानेको हेटौंडाको सहकारी अस्पताल मकवानपुरमा उपचारपश्चात थप उपचारको लागि मंसिर २८ गते चितवनको भरतपुर सीएमसी हस्पिटल रिफर गरिएका प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।
चक्कु प्रहार गर्ने बर्तौला र मगरलाई ज्यान मार्ने कसुरमा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक कार्की बताए ।
