बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य ढुंगानाले पुस १३ गते शपथ लिने

तु खबर संवाददाता
२०७९ पुष ८, शुक्रबार १४:२८

मकवानपुर । बागमती प्रदेशसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले यही पुस १३ गते शपथ ग्रहण गर्ने भएका छन् ।

७२ वर्षीय ढुंगानाले बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका हुन् । शुक्रबार बसेको प्रदेशको सर्वदलीय बैठकले सो निर्णय गरेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

ढुंगानाले पुस १३ गते शपथ ग्रहण गरेपश्चात प्रदेशका अन्य १०९ जना नवनिर्वाचित सदस्यहरुलाई पुस १४ गते शपथ ग्रहण गराउने कार्यसूची बनाएको प्रमुख सचिव खड्काले बताए ।

ढुंगाना गत मंसिर ४ मा सम्पन्न प्रत्यक्षतर्फ निर्वाचनमा बागमती प्रदेशसभा सदस्यका लागि नुवाकोट जिल्लाको क्षेत्र नं. २ (१) बाट निर्वाचित भएका हुन् । उनी नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेशसभाको प्रत्यक्षतर्फबाट निर्वाचन भएका हुन् ।