भूमिहिन चेपाङ बस्ती अवलोकन

तु खबर संवाददाता
२०७९ पुष १, शुक्रबार १०:३१

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ३ घट्टेखोलामा तत्कालिन जिल्ला विकास समिति मकवानपुर र प्रजा विकास कार्यक्रमको पहलमा वि.सं २०४७ सालमा स्थान्तरण गरिँदै आएको २९ घरधुरी प्रजा बस्तीमा जिल्लाका विशिष्ट पदाधिकारीहरुले अवलोकन गरेका छन् ।

घट्टेखोलामा बसोबास गर्दै आएको २९ घरधुरी चेपाङहरुले जिल्ला समन्वय समिति (जिसस) मकवानपुरमा आफूले भोगचलन गर्दै आएको भूमीमा स्वामित्व पाउनुपर्ने माग दाबी गरेपश्चात जिल्ला समन्वय समितिलगायत जिल्लाका विभिन्न सरोकारवाला निकायका प्रमुख तथा पदाधिकारीहरुले उक्त बस्ती भ्रमण गरी चेपाङहरुको अवस्था अवलोकन गरेका हुन् ।

अवलोकन भ्रमणममा जिससका प्रमुख ललितबहादुर घलान, उप–प्रमुख सानुकाजी लुईटेल, सदस्य बिरेन्द्र लामा, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, राष्ट्रिय भुमि आयोग जिल्ला समिति मकवानपुरका अध्यक्ष विष्णु प्रसाद दाहाल, सदस्य अर्जुन प्रसाद चौलागाई, राक्सिराङ गाउँपालिकाका उपप्रमुख बनस्तम थिङ, वडा नं ३ र ५ का वडा अध्यक्षहरु उत्तम वाईवा र हरि बहादुर प्रजा, जिल्ला मालपोत कार्यालय प्रमुख पुर्णहरी सुवेदी, नापी कार्यालय प्रमुख, सशस्त्र प्रहरीका एस.पी., जिल्ला प्रहरी कार्यालयका डीएसपी, जिल्ला र स्थानीय खाद्य अधिकार सञ्जालका संयोजकहरु क्रमश डा. सम्राट तुम्बाहाङफे र चित्र बहादुर थिङ लगायत जिल्लाका विशिष्ट सरकारी पदाधिकारीलगायतको सहभागीता रहेको थियो ।

भ्रमणको क्रममा, भूमि आयोगका अध्यक्षले चेपाङलगायत अन्य सिमान्तकृत जातजातिका मानिसहरु हालसम्म पनि भूमिहिन र अव्यवस्थित रुपमा बसोबास गर्दै आएको भएर नै सरकारले भूमि आयोगको गठन गरेको र यी समस्या समाधान गर्नमा जिल्ला भूमि आयोग तत्पर रहेको जनाएका थिए ।

यस्तै, पालिका उपप्रमुख थिङले जानतालाई सहयोग गर्नको लागि स्थानीय तह सँधै तयार रहेको र स्थानीय तहलाई सहयोग गर्न सम्बन्धीत सबै सरोकारवालालाई समेत आव्हान गर्नु भएको थियो । प्रजिअ पाण्डेले आफ्नो तर्फबाट हुने सम्पुर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो भने, जिसस प्रमुखले कानूनको दायरा भित्र रहेर चेपाङहरुलाई गर्नु पर्ने सबै प्रकारको सहयोगमा कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

फियान नेपालको प्रदेश संयोजक लक्ष्मी गुरूङ्गले सहजीकरण गरेको कार्यक्रममा समुदायको तर्फबाट रामचन्द्र प्रजाले समुदायको समग्र अवस्था बारे प्रस्तुत गरेका थिए ।