२८ लाख घूससहित पक्राउ परेका इन्जिनियरविरुद्ध मुद्दा दर्ता

तु खबर संवाददाता
२०७९ मंसिर २६, सोमबार १७:४४
file-photo

काठमाडौं । २८ लाख रुपैयाँ घूससहित पक्राउ परेका रामेछापको मन्थलीस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा कार्यरत इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापाविरुद्ध मुद्धा दर्ता भएको छ ।

सेवाग्राहीबाट १६ लाख नगद र १२ लाख रूपैयाँको चेक लिइसकेको अवस्थामा पक्राउ परेका उनीहरुविरुद्ध सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरु गत कात्तिक २ गते खानेपानी सम्बन्धी कामको भुक्तानी वापत सेवाग्राहीसँग घुस तथा रिसवत माग गरिरहेको उजुरीका आधारमा पक्राउ परेका थिए ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर मा उनीहरूलाई २८ लाख रूपैयाँ बिगो कायम गरी विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारले जनाएके छ ।