उधौली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने : प्रधानमन्त्री देउवा

तु खबर संवाददाता
२०७९ मंसिर २२, बिहीबार ०८:०१
file-photo

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत समुदायको पर्व उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र सम्बृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

उधौली पर्वका अवसरमा शुभकामना दिँदै उनले यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

किराँत समुदायमा जाडो मौसम सुरु भएछि हरेक वर्ष मंसिर पूर्णिमाका दिनदेखि सुरू भई १५ दिनसम्म विभिन्न क्रियाकलापका साथ उधौली पर्व मनाउने परम्परा रहेको छ ।

यस पर्वका अवसरमा किराँत समुदायका मूलतः राई, लिम्बू, याख्खा र सुनुवारले नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गर्ने गरिन्छ ।

उधौली पर्वका अवसरमा परम्परागत वेषभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिकरूपमा साकेला नृत्य गर्ने प्रचलनसमेत रहेको छ ।