उँधौली पर्व पनि हाम्रा पर्वहरु मध्येको एउटा महान् चार्ड हो : प्रदेश प्रमुख शर्मा

तु खबर संवाददाता
२०७९ मंसिर २१, बुधबार १७:३३
file-photo

मकवानपुर । बिहीबार देशभर मनाइँदै गरिएको किराँत समुदायको महत्वपूर्ण पर्व उधौलीका अवसरमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शुभकामना सन्देश व्यक्त गरेका छन् ।

प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्दै यो पर्वको सुखद् अवसरमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दाजुभाई–दिदीबहिनीहरुमा सु–स्वास्थ्य, दिर्घायू तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका हुन् ।

प्रमुख शर्माले आफ्नो सन्देशमा नेपालीहरुको परम्परा, भेषभुषा, चालचलन एवं चाडपर्व र संस्कृतिमा विविधता रहेको उल्लेख गर्दै यही विविधताभित्र दरिलो एकता तथा सामाजिक सहिष्णुता विश्वसामु हाम्रो पहिचान बनेको बताए ।

यसप्रति हामीले गर्वबोध गर्न सक्नुपर्ने भन्र्दै उहाँले हामी सबै समुदाय र सम्प्रदायका नेपालीहरु समस्टीमा बन्धु–बान्धव हौं रहेको उल्लेख गरे । शुभकामनामा उनले भनेका छन्,, ‘हाम्रा सबै भाषा तथा चाडपर्वहरु राष्ट्रिय हुन् । यस सन्दर्भमा हाम्रो देशका किराँत समुदायहरुले मनाउने उँधौली पर्व पनि हाम्रा पर्वहरु मध्येको एउटा महान् चाड हो ।’

उँधौली पर्वको हाम्रो जीवनमा विशिष्ट महत्व रहेको सन्दर्भ समेत प्रमुख शर्माको शुभकामना सन्देशमा उल्लेख छ । ‘नेपाली जीवनको आधारस्तम्भ कृषि एवं पशुपालनबाट विकसित हुँदै आएको हो । एकातिर पशुहरु लेकाली इलाकाको खर्कबाट गाउँवेशी झरेको र अर्कातिर अन्नबाली भित्राएको खुशीयालीमा मनाइने यो पर्वको हाम्रो जीवनमा विशिष्ट महत्व छ । ’

उनको शुभकामना सन्देशमा भनिएको छ,‘यसलाई हाम्रो गौरवमय परम्परा र उच्च सांस्कृतिक धरोहरका रुपमा जोगाई राख्नु हाम्रो दायित्व पनि हो ।’

प्रमुख शर्माले यस पर्वले हामी नेपालीबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्घि गर्दै राष्ट्रिय एकता सुदृढ गर्न प्रेरित गर्नेछ भन्ने विश्वास समेत लिएका छन् ।