हँसिया प्रहार गरेर एक जनाको हत्या

तु खबर संवाददाता
२०७९ मंसिर २१,बुधबार ०८:५७

धनगढी । कैलालीमा हँसिया प्रहार गरेर एक जनाको हत्या भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका–६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको हसिया प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मृतकका भिनाजु नाता पर्ने सोही ठाउँका ५० वर्षीय गौरीलाल ढुङ्गानाले दुई जनामाथि हँसिया प्रहार गरेका थिए ।

हँसिया प्रहारबाट गम्भीर घाइते भएका दुई जनामध्ये भण्डारीलाई उपचारका लागि टिकापुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको हो ।

हँसिया प्रहारबाट अर्का ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन् । उनको टीकापुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रेफर गरिएको छ ।

हँसिया प्रहार गर्ने ढुंगाना हाल फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।