हेटौंडा सिमेन्टको उत्पादन हुन अझै एक हप्ता लाग्ने
मकवानपुर । हेटौंडा सिमेन्ट उद्योगको विद्युतीय उपकरणको मर्मतसम्हार गरेर सिमेन्ट उत्पादन गर्न अझै एक हप्ता लाग्ने भएको छ ।
उद्योगमा प्रयोग हुने चेनको फिल्टर र विद्युतीय मोटर बिग्रिएर केही दिनदेखि बन्द रहेको सिमेन्टको पुनः उत्पादन एक साताभित्र सुरु गर्ने लक्ष्य रहेको उद्योगको व्यवस्थापनले जनाएको छ ।
उद्योगको भण्डारणमा राखिएको गुणस्तरीय सिमेन्टलाई जुटका बारेमा प्याकिङ गरी काठमाडौँ र हेटौंडालगायत विभिन्न सहर आपूर्ति गरिरहेको हेटौंडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए ।
उत्पादन सिमेन्टहरु सुपथ मूल्यमा विकास आयोजना, सडक–ढल निर्माण एवम् सर्वसाधारणको आवासगृह निर्माणका लागि उच्च प्राथमिकता दिएर खपत गरिरहेको उनले स्पष्ट पारे ।
मकवानपुरमा नेपाल सरकारद्वारा २०३३ सालमा हेटौंडा सिमेन्टको स्थापना गरी सो उद्योगले विसं २०४२ सालदेखि व्यावसायिक उत्पादन सुरु गरिएको उद्योगका महाप्रबन्धक बसुन्धारा पाण्डेले बताए । उनका अनुसार, हाल सो उद्योगमा दैनिक १४ हजार बोरा सिमेन्ट उत्पादन गरिँदै आएको छ ।
