मंसिर २८ गतेभित्र राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने निर्वाचन आयोगको तयारी

तु खबर संवाददाता
२०७९ मंसिर १९,सोमबार १७:३९

काठमाडौं । निर्वाचन आयोगले नतिजासहितको प्रतिवेदन प्रमाणीकरणका लागि राष्ट्रपतिलाई बुझाउने तयारी थालेको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन नतिजा आउने क्रम अन्तिम चरणमा पुगेसँगै आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

आयोगले प्रत्यक्षतर्फको नतिजा आइसकेपनि समानुपातिकतर्फको तीन जिल्लाको मत गणना जारी रहेकाले सोमबार राति १२ बजेसम्म गणना सक्न सम्बन्धित निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार, बाजुरा, दोलखा र स्याङजाको समानुपातिक मत गणना जारी छ । ती जिल्लाको मत गणना आज राति १२ बजेभित्र सम्पन्न गर्न निर्देशन दिइएको छ ।

आयोगले दलहरुलाई समानुपातिकतर्फ निर्वाचित हुने नाम तीन दिनभित्र पठाउन म्याद दिने भएको छ । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेशका ३३० क्षेत्रका नतिजा सार्वजनिक भैसकेको छ । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये ५७ क्षेत्रमा जित हासिल गरेर नेपाली कांग्रेस प्रत्यक्षतर्फ पहिलो पार्टी बनेको छ ।

यस्तै, नेकपा (एमाले) ले ४४ निर्वाचन क्षेत्र, नेकपा (माओवादी केन्द्र) ले १८ क्षेत्र, नेकपा (एकीकृत समाजवादी) ले १० क्षेत्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले ७/७ क्षेत्र, लोकतान्त्रिक समाजवादी पार्टीले ४ क्षेत्र, नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्र, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक/एक सिट जितेका छन् । देशभर ५ जना स्वतन्त्र सांसद निर्वाचित भएका छन् ।

यस्तै, प्रदेश सभाको प्रत्यक्षतर्फ ३३० वटा प्रदेश सभाका क्षेत्रमध्ये १११ निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस, ९१ सिट जितेर एमाले दोस्रो, ५३ स्थानमा जितेर माओवादी केन्द्र तेस्रो दल बनेको छ ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीले १५ सिट जितेको छ भने जनता समाजवादी पार्टीले ११ राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि ११, लोकतान्त्रिक समाजवादी पार्टीले ९, नागरिक उन्मुक्ति पार्टीले ७, जनमत पार्टीले पनि ७, हाम्रो नेपाली पार्टीले १ र स्वतन्त्रले १२ वटा निर्वाचन क्षेत्रमा जितेका छन् ।