नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन बैशाखमा
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन २०८० साल बैैशाख ४ देखि ६ गतेसम्म कैलालीको टीकापुरमा हुने भएको छ ।
पार्टीका नेता लक्ष्मण थारूका अनुसार, सोमबार रेशम चौधरीसँग डिल्लीबजार कारागारमा भेटघाट गरी महाधिवेशनको मिति तय गरिएको हो । उनले पार्टी संगठन रहेको सबै जिल्लाका पदाधिकारीहरूलाई आ–आफ्नो जिल्ला, क्षेत्र, पालिका, वडाहरुको गठन, पुनर्गठनमा लाग्न आह्वान पनि गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–१ बाट पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ, कैलाली–२ बाट अरुणकुमार चौधरी र कैलाली–३ बाट गंगाराम चौधरी प्रतिनिधि सभामा निर्वाचित भएका छन् ।
यस्तै बर्दिया–२ बाट रेशमका बुवा लालवीर चौधरी स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका छन् ।
यसैगरी, प्रदेशसभामा कैलालीबाट ५ जना र बर्दियामा २ गरेर कुल ७ जनाले चुनाव जितेका छन् ।
