मकवानपुरको मतगणना स्थलमा सीसीटीभी र तारजाली जडान
मकवानपुर । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनको मतगणनालाई सुरक्षित बनाउन मकवानपुरको मतगणना कक्षमा तारजाली तथा सीसीटीभी जडान गरिएको छ ।
जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ सिद्धार्थ माविको ८ वटा कोठामा तारजाली तथा सीसीटीभी क्यामेरा जडान गरेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।
उनका अनुसार, मकवानपुरको निर्वाचन क्षेत्र नम्वर १ र २ गरी ३६४ वटै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी सिद्धार्थ माविकै भवनमा एकैसाथ मतगणना गरिनेछ । मतगणनाका लागि प्रत्यक समूहमा अधिकृतस्तरको कर्मचारीसहित अन्य ५ जना कर्मचारी रहने गरी ४ वटा समुह बनाइएको छ ।
मुख्य निर्वाचन अधिकृत निरौलाले आज रातिसम्ममा मत पेटिका संकलन गरी ५ गते बिहान सर्वपक्षीय बैठक आह्वान गरी दिउँसो १२ बजेबाट मतगणना प्रारम्भ गरिने तयारी रहेको छ ।
जिल्लामा ३ लाख ७३३ मतदाता रहेका छन् । जसमध्ये क्षेत्र नम्वर १ (क) मा ७७ हजार ९८९ (ख) ७२ हजार १६६ मतदाता र क्षेत्र नम्वर २ (क) मा ८३ हजार ०९९ र (ख) मा ६७ हजार ४ सय ७९ गरी कूल ३ लाख ७ सय ३३ मतदाता रहेका छन् ।
मकवानपुरमा निर्वाचन सम्पन्न गर्न क्षेत्र नम्वर १ मा १ हजार ३८२ र क्षेत्र नं. २ मा १ हजार ५३६ गरी कुल २ हजार ९१८ जना मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य सहायक कर्मचारी र कार्यालय सहयोगीहरुसहित जिल्लाको सबै मतदान केन्द्रहरुमा खटिएको निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।
