जुम्ला जीप दुर्घटना अपडेट : घाइतेको संख्या ६ पुग्यो

तु खबर संवाददाता
२०७९ मंसिर १, बिहीबार १७:१९
File Photo

जुम्ला । जुम्लाको खलङ्गादेखि तातोपानी–८ स्थित जनजागृति मावि ताम्ती मतदान केन्द्रतिर निर्वाचन सामग्री बोकेर जाँदै गरेको बोलेरो जीप दुर्घटनामा परेर घाइते हुनेको संख्या ६ पुगेको छ । भे १ च २१८८ नम्वरको जीप तातोपानी ४ रावतबाडामा एक्कासि अनियन्त्रित भई दुर्घटना हुँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

दुर्घटनामा परेर घाइते हुनेहरुमा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदीप्रसाद न्यौपाने, नेपाल प्रहरीका सई सीताराम दराई, सहायक हवलदार सुरज चन्द, प्रहरी जवान राजेन्द्र विष्ट र एक जना कार्यालय सहयोगी रहेका छन् । घाइतेमध्ये प्रहरी हवल्दार चन्द र प्रहरी जवान विष्टको अवस्था गम्भीर रहेको छ ।

घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । घाइतेको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरी, डीएसपी नरेन्द्र चन्दसहितको टोली अस्पताल पुगेको छ ।