आगलागीमा परेर युवतीको मृत्यु
काठमाडौं । भक्तपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार बिहान पौने ८ बजे मध्यपुरठिमी नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोलमा ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
मृत्यु हुनेमा आत्मारामकी २५ वर्षीया छोरी अस्मिता केसी रहेका छन् । बिहान पौने ९ बजे उनी मृत भेटिएको भक्तपुर प्रहरीले जनाएको छ । मृतक अस्मिता सुस्त मनस्थिति र प्यारालाइसिस रोगकी बिरामी थिइन् ।
यस्तै, हरिशरणकी १४ वर्षीया छोरी नित्मा केसीको उद्धार गरी कोरियन अस्पताल लगिएको थियो । उनको डिस्चार्ज पनि भइसकेको प्रहरीले जनाएको छ ।
उक्त आगो नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, भक्तपुरबाट दुई वटा दमकल, जनप्रतिनिधि र स्थानीयको सहयोगमा पौने ९ बजे नियन्त्रणमा आएको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
