मकवानपुर १ मा त्रिपक्षीय प्रतिस्पर्धा
हेटौंडा । आगामी मंसिर ४ गते हुने निर्वाचनमा मकवानपुर क्षेत्र नम्वर–१ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । राष्ट्रिय राजनीतिमा पहिचान स्थापित गराएका राप्रपा नेपालका अध्यक्ष कमल थापा र कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनासँगै राप्रपाका दिपकबहादुर सिंह प्रतिस्पर्धामा छन् ।
थापा, डीना र सिंहबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको हो । सो क्षेत्रमा विभिन्न राजनीतिक दलबाट र स्वतन्त्रसमेत गरी अन्य १३ जनाले उम्मेदवारी दिएका छन् ।
२०७४ को निर्वाचनलाई हेर्दा सो क्षेत्रमा नेकपा एमालेको प्रभाव सबैभन्दा बढी देखिन्छ । माओवादी केन्द्रको साथ पाउँदा यसअघि एमालेका कृष्ण दाहाल निर्वाचित भएका थिए । कांग्रेसको साथ लिएर चुनावी मैदानमा होमिएका तत्कालिन राप्रपा नेपालका अध्यक्ष कमल थापा भने दाहालसँग करिब ६ हजार मतले पराजित भए ।
दाहालले ४० हजार ६ सय ३१ मत पाउँदा थापाले ३४ हजार ६ सय ५८ मत मात्रै पाए । एमालेका दाहालसँग पराजित भएका थापा अहिले एमालेकै सूर्च चिन्ह लिएर चुनाव लड्दै छन् । एमालेलाई सघाएको माओवादी केन्द्र भने अहिले एमालेविरुद्ध उभिएको छ ।
५ वर्षको अवधिमा राजनीतिक समिकरण बद्लिएको छ । नेकपा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीसँगै माओवादी केन्द्र पनि नेपाली कांग्रेससँगको लोकतान्त्रिक बाम गठबन्धन छ । थापाले पनि राप्रपा विभाजन गरी राप्रपा नेपालको नेतृत्व गरिरहेका छन् ।
गठबन्धन दलका नेताहरुले मतदाताको संख्या तुलनात्मक रुपमा आफुहरुसँग धेरै भएको बताउँदै आएका छन् । स्थानीय तहको परिणाम हेर्दा गठबन्धनको दावी स्वभाविक देखिन्छ ।
यता, नेकपा एमालेले सो क्षेत्रमा पार्टी विभाजनको असर नपरेको दावी गर्दै आएको छ । कमल थापा हेवीवेट नेता भएको भन्दै एमालेले आफ्नै पक्षमा परिणाम आउने बताउँदै आएको छ ।
गठबन्धन र एमालेले आफ्नै पक्षमा परिणाम आउने दावी गरिरहँदा यता राप्रपाका दिपकबहादुर सिंहले पनि आफ्नो पषमा माहौल बढाइरहेका छन् ।
स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा पराजित भएका सिंहले गठबन्धनकी मिना लामा र एमालेका अनन्त पौडेललाई हम्मेहम्मे पारेका थिए । सो क्षेत्रमा हेटौंडाको १९ मध्ये १५ वटा वडा पर्दछ । स्थानीय निर्वाचनको परिणाम हेर्दा सिंह यो निर्वाचनमा पनि डीना र थापाको लागि भारी उम्मेदवारको रुपमा देखिएका छन् ।
पटक–पटक एमालेसँगै पराजित भएको क्षेत्रमा एमालेकै रामेश्वर रानालाई पछि पारेर उम्मेदवार बनेका थापा र क्षेत्र नम्बर–२ बाट तीनपटक हार व्यहोरेर क्षेत्र नम्बर–१ रोजेकी डीनाका लागि सिंह टाउको दुखाइको विषय बनेको राजनीतिक वृत्तमा चर्चा छ । थापा, डीना र सिंहबीचको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ । अन्य स–साना दलको मत र स्वतन्त्र मत पनि निर्णायक बन्नसक्ने देखिएको छ ।
