दुर्घटनामा परेर ३ जनाको मृत्यु, १२ जना घाइते

तु खबर संवाददाता
२०७९ कार्तिक २३, बुधबार ०८:०४
File Photo

प्युठान । प्युठानमा गएराति जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठान नगरपालिका वडा नम्बर–५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीय महिमा घर्ती रहेका छन् ।

गएराति करिब १ बजेतिर प्युठान नगरपालिका–५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्वरको फोर्स जिप आफै अनियन्त्रित भई दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएके प्युठान प्रहरीले जनाएको छ ।

यस्तै, सोही दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते हुनेहरुमा क्रमशः प्युठान नगरपालिका–५, बस्ने ५० वर्षीय फागुनी खत्री, ५० वर्षीय गोरी घर्ती, १९ वर्षीय बिरी कुमारी महरा, ५२ वर्षीय डिलाराम घर्ती क्षेत्री, ३४ वर्षीय निमा खत्री, ३० वर्षीय जुठी महरा, १८ वर्षीया कुमारी महरा, ४१ वर्षीय नखी महरा, ४७ वर्षीय गोरी खत्री, ३७ वर्षीय निमलाल घर्ती, ३४ वर्षीय जगमा महरा र ५८ वर्षीय रामे रोका रहेका छन् ।

चालक प्युठान नगरपालिका– ९ का २३ वर्षीय बिनोद केएम सामान्य घाइते रहेका छन् । घटनास्थलमा जिल्ला प्रहरीको टोली र स्थानीय बासिन्दाले घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेका थिए । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।