५ लाख बढी नागरिक मताधिकारबाट बञ्चित

तु खबर संवाददाता
२०७९ कार्तिक २२, मंगलवार १६:१८
file-photo

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा झन्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित हुने भएका छन् ।

राजनीतिक दलहरुको दाउपेचले अलपत्र परेको नागरिकता विधेयक टुंगोमा पुग्न नसक्दा ५ लाख बढी नागरिक नागरिकताविहीन भएका हुन् । तिनै नागरिक अहिले मतदान प्रक्रियाबाट बञ्चित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार, आसन्न निर्वाचनमा मतदानका लागि योग्य मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५ सय ७० रहेको छ । जसमा महिला ८८ लाख ४७ हजार ५ सय ७९ जना, पुरुष ९१ लाख ४० हजार ८ सय ६ जना र अन्य १ सय ८५ जना रहेका छन् ।

नेपाल नागरिकता ऐन २०६३ अनुसार, २०४६ चैत्र मसान्तभित्र नेपालमा जन्मिएका नागरिकका सन्तान नागरिकताबाट बञ्चित भएका हुन् ।

तात्कालिन समयमा २ वर्ष भित्र संविधान सभाको चुनावअघि नै त्यस्ता नागरिकले जन्मको आधारमा नागरिकता लिइसक्नुपर्ने सरकारले जारी गरेको आदेशअनुसार १ लाख ९० हजार ७ सय २६ जनाले जन्मको आधारमा नागरिकता लिएका थिए ।