भिक्टोरिया तालमा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

काठमाडौं । तान्जानियाको एउटा यात्रुवाहक विमान बुकोबामा अवतरण गर्ने क्रममा भिक्टोरिया तालमा दुर्घटना हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । प्रेसिजन एयरको यो विमानमा ४३ जना सवार थिए । जसमध्ये २६ जनालाई दुर्घटनापछि अस्पताल लगिएको थियो ।
उद्धारकर्मी र स्थानीय माझीहरूले विमानमा फसेका यात्रुहरुको उद्धार गरेका थिए । विमानस्थलमा विमानको पर्खाइमा रहेका अब्दुल नूरीले विमान पानीमा खसेको देखेको बताए । घटनास्थलमा पहिलो पटक पुगेका माझीहरूसँग कुरा गर्दा उनीहरूले विमानको पछाडिको ढोका खोलेका कारण केही व्यक्तिलाई विमानबाट बाहिर निकाल्न सफल भएको बताए ।
यो ताल बुकोबा एयरपोर्टको धेरै नजिक छ र यो अफ्रिकाको सबैभन्दा ठूलो ताल हो। राष्ट्रपति सामिया सुलुहु हसनले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।