हेटौंडामा एकदिने अभिमुखीकरण कार्यक्रमको आयोजना
मकवानपुर । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषदले बुधबार हेटौंडामा अभिमुखी कार्यक्रमको आयोजना गरेको छ । बागमती प्रदेशको १३ वटै जिल्ला युवा समितिको अध्यक्षहरुको लागि आर्थिक वर्ष २०७९/८० वार्षिक कार्यक्रमको एकदिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।
प्रदेशको युवा तथा खेलकुद मन्त्रालयमा भएको उक्त कार्यक्रमको उद्घाटन परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले गरेका हुन् । सो क्रममा बोल्दै उपाध्यक्ष बस्नेतले युवाहरुलाई स्वदेशमै स्वरोजगारमूलक बनाउनु पर्ने र देशप्रेम भावनाको विकास गराउनुपर्नेमा जोड दिए ।
यसैगरी, कार्यक्रममा बोल्दै बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौलागाईले देशको युवा शक्तिलाई उत्पादनसँग जोड्नुपर्ने आवश्यकता बताए । उनले युवालाई स्वरोजगार बनाउने र युवा परिचालन गरेर उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमको संचालन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रदेशको १३ वटै जिल्लाका जिल्ला युवा समितिका अध्यक्षहरु, प्रदेशको युवा तथा खेलकुद मन्त्रालयका सचिव ध्रुव गैडा, राष्ट्रिय युवा परिषद्का चन्द्रा थापा, गङ्गादेवी न्यौपाने तथा स्थानीय तहमा युवा तथा शिक्षा क्षेत्रमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।
