तीन महिनापछि पुनः संचालनमा आयो हेटौंडा सिमेन्ट उद्योग
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडास्थित सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग तीन महिनापश्चान पुनः संचालनमा आएको छ । कोइलाको आपूर्ति नहुँदा तीन महिनादेखि बन्द रहेको उक्त उद्योग मंगलबारबाट पुनः संचालनमा आएको हो ।
बोलपत्र आह्वान गरी उद्योगका लागि आवश्यक कोइला भारत, भुटान, इन्डोनेसियालगायतका देशबाट आपूर्ति गरी उत्पादन सुरु गरेको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले जानकारी दिए ।
उनका अनुसार, उद्योगमा दैनिक ११० टन कोइला खपत हुने गरेको छ । उद्योगबाट दैनिक १० देखि १४ हजार बोरा गुणस्तरीय सिमेन्ट उत्पादन हुँदै आएको छ । उद्योगमा पर्याप्त चुनढुंगाको भण्डारण रहेको छ ।
