विकास र व्यवस्था परिवर्तनका लागि युवाको भूमिका अपरिहार्यः बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नम्वर २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले मुलुकको विकास र व्यवस्था परिवर्तनमा युवाको भूमिका अपरिहार्य रहेको बताएका छन् ।
मनहरी गाउँपालिकामा रहेका नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुल दल, माओवादी केन्द्रको वाईसियल र नेकपा एकीकृत समाजवादीको युथफोर्सको मनहरीको रजैयामा भएको संयुक्त भेलामा नेता बानियाँले मुलुकको व्यवस्था परिवर्तन भैसकेको र अब युवाको नेतृत्वमा विकास निर्माण र जनताको अवस्था परिवर्तन गर्न आवश्यक रहेको बताउँदै केपी ओली नेतृत्वको एमालेले झुटको खेति र सपना मात्रै बाँड्ने काम गरेको बताए ।
एमालेका युवा दस्ताहरुले सामाजिक सञ्जालहरुमा भ्रामक र झुटको खेती गरेको बताउँदै नेता बानियाँले यस्ता झुट र भ्रामक कुराहरु फैलाउनेलाई सामाजिक सञ्जालबाटै सत्यतथ्य कुरा शान्तिपूर्ण तरिकाबाट चिर्न निर्देशन दिएका छन् ।
ओली नेतृत्वको एमालेले ४ वर्ष केन्द्र र प्रदेशको नेतृत्व गर्दैगर्दा पानीजहाज, रेल र चुलोमा ग्याँस ल्याउने झुठो आश्वाशन तथा भ्रष्टाचारमा लिप्त अनेकौ प्रमाण सार्वजनिक भएको बताउँदै नेता बानियाँले यस्तो भ्रामक प्रचारलाई चिर्न युवाको भूमिका प्रमूख हुने बताए ।
यो लोकतान्त्रिक बाम गठबन्धनले हुँदा खानेलाई हुनी खाने बनाउने, हुनी खानेलाई गरि खाने बनाउने अभियानमा लागेकाले आम मतदातामा गएर बुझाउन आग्रह गर्दै उम्मेदवार बानियाँले प्रत्येक मतदाताको घरघरमा गएर मतदान शिक्षा दिन जरुरी रहेको बताए ।
युवाहरूको संयुक्त भेलामा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजाराम स्याङतान, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, वाईसीएल बागमती प्रदेश सदस्य दीपेन्द्र अधिकारी, तरुण दल मनहरी गाउँपालिका उपाध्यक्ष पूर्णबहादुर प्रजालगायतले मन्तव्य व्यक्त गरे ।
