सन्दीप लामिछानेविरुद्ध आज मुद्दा दर्ताको तयारी
काठमाडौं । नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध आज मुद्दा दर्ता गर्ने भएको छ । बालिका बलात्कारको आरोपमा पक्राउ परेका लामिछानेविरुद्ध प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको १ हप्तापछि काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गर्न लागेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ ।
उनलाई विदेशबाटै फर्कँदै गर्दा असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । जबरजस्ती करणी मुद्दामा प्रहरीले अधिकतम २५ दिनसम्म मात्र थुनेर अनुसन्धान गर्न पाउँछ ।
तर, तिहार र छठको एक साता लामो विदाका कारण लामिछाने २५ दिनभन्दा लामो समय हिरासतमा बसेका थिए । आज सोमबार अदालत खुलेसँगै सरकारी वकिलको कार्यालयले मुद्दा दर्ताको तयारी गरेको हो । लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक–पटक बलात्कार गरेको आरोप छ ।
