हेटौंडामा उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ राप्ती तडमा ब्रतालुहरुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर यसपालीको छठलाई समापन गरेका छन् ।
चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासना गरी बिहान ब्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सकिएको हो ।
छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिइएको हो । छठ पर्व रातभरी जाग्राम बसेका भक्तजनहरुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रूपमा सम्पन्न गरेको हो ।
उक्त स्थानमा ब्रतालुहरुलाई रातभरी जाग्राम बस्नको लागि व्यवस्थान मिलाइएको थियो । भक्तजनहरुलाई पानी तथा शितबाट जोगाउन ६ सय फिट लामो पण्डाल र पाल टाँगिएको थियो । आईतबार ठूलो संख्यामा भक्तजनहरुको उपस्थिति रहेका थियो ।
