हेटौंडामा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो

सन्देश थिङ
२०७९ कार्तिक १३, आईतवार १७:४३

मकवानपुर । छठ पर्वको मुख्य दिन आज मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ राप्ती तडमा ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएका छन् ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व आज बिहानै स्नान गरी निराहार ब्रत बसेका ब्रतालुले पानीमा उभिएर शुद्धता र सामाजिक सद्भावको कामना गर्दै अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।

उक्त स्थानमा ब्रतालुहरुलाई रातभरी जाग्राम बस्नको लागि व्यवस्थान मिलाइएको छठ पुजा व्यवस्थापन समितिका सचिव नन्दलाल दासले जानकारी दिए । उनका अनुसार, भक्तजनहरुलाई पानी तथा शितबाट जोगाउन ६ सय फिट लामो पण्डाल र पाल टाँगिएको छ ।

राप्तीतटतर्फ जाने बाटोमा टेन्ट र ध्वजासहितको गेटहरु निर्माण गरिएको छ । ठूलो संख्यामा भक्तजनहरुको उपस्थिति हुने भएकाले सुरक्षा चुनौतीमा कमि हुन नदिन ठूलो संख्यामा प्रहरी खटाइएको समितिका सचिव दासले बताए ।

छठ पर्व रातभरी जाग्राम बसेका भक्तजनहरुले भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि विधिवत् रूपमा सम्पन्न हुनेछ ।