‘झुट र भ्रमको खेती गर्न ओली महानायक’

तु खबर संवाददाता
२०७९ कार्तिक ७, सोमबार ०८:२७

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्वर २ को (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका तर्फका उम्मेदवार इन्द्रबहादुर बानियाँले नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली झुठ र भ्रमको राजनीति गरिरहेको भन्दै आलोचना गरेका छन् ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा आइतबार गठबन्धन दलले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै बानियाँले एमाले नेता र नीति ठिक नभएको पार्टी भएको भन्दै यस्तोले मुलुकलाई निकास दिन नसक्ने दाबी गरे । वर्तमान व्यवस्थाई ढाल्नको लागि केपी ओलीले दुइ दुइ पटकसम्म संसद विघटन गरेको स्मरण गर्दै बानियाँले अब जनताले तीनलाई विश्वास गर्न नसक्ने बताए ।

‘ओलीको पार्टीले जितेमा मुलुकको विकास हुन नसक्ने देखेपछि जनताको अवस्था परिवर्तन गर्न लोकतान्त्रिक बाम गठबन्धन बनेको छ, यो गठबन्धनदेखि ओली अत्तालिएका छन् ।’ बानियाँले भने– ‘गठबन्धनदेखि आत्तिएका ओलीले जनता मार्ने कमल थापा र देश टुक्र्याउन लागिपर्ने सिके राउत जस्ताको पार्टीसंग मिलेर लठबन्धन गरिरहेका छन् । केपी ओली झुट र भ्रमको खेती गर्न महानायक हुन् ।’ स्थानीय तहको निर्वाचनमा भएको कमीकमजोरीलाई भुलेर लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे ।