पोखरा रंगशालामा प्याराग्लाइडिङ खेलाडी निसिमको सालिक स्थापना हुने

तु खबर संवाददाता
२०७९ कार्तिक ३,बिहीबार ०९:००

पोखरा । पोखरा रंगशालामा प्याराग्लाइडिङ खेलाडी निमिस थापाको सालिक स्थापना हुने भएको छ । नवौं राष्ट्रिय खेलकुदका दौरान प्रतिस्पर्धाकै क्रममा ग्लाइडर दुर्घटनामा परेर निधन भएका थापाको स्मृतिमा अर्धकदको सालिक स्थापना गरिने भएको हो ।

बुधबार साँझ बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ११५ औं बोर्ड बैठकले खेलका दौरान ज्यान गुमाउने खेलाडीको सम्मानस्वरुप सालिक स्थापना गर्ने निर्णय गरेको राखेप सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए ।

उनका अनुसार, बीमा रकम बाहेक पनि मृतक खेलाडीलाई सरकारबाट राहत दिन मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय पनि भएको छ । राष्ट्रिय खेलकुदमा हरेक खेलाडीको १० लाखको जीवन बीमा गरिएको छ ।

असोज ३० गते प्याराग्लाइडिङको क्रसकन्ट्री विधामा प्रतिस्पर्धा हुँदै गर्दा सराङकोटमा भएको दुर्घटनामा नेपाल आर्मी क्लबका लागि खेलिरहेका उपाधि दावेदार निसिमको निधन भएको थियो ।