दूग्ध क्षेत्रमा अवसर र चुनौती दुवैः देवकोटा

तु खबर संवाददाता
२०७९ आश्विन ३१, सोमबार १७:४८

मकवानपुर । केन्द्रीय दूग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले मकवानपुर जिल्ला दूग्ध उत्पादक सहकारी संघ लिमिटेडमा नवनिर्वाचित सञ्चालक समितिलाई व्यवस्थित तवरले संस्था सञ्चालन गर्न आग्रह गरेका छन् ।

गत असोज १४ गते भएको संघको २९ औँ साधारणसभा तथा १० औँ अधिवेशनबाट निर्विरोध निर्वाचित भएका सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिलाई सोमबार प्रमाणपत्र वितरण गर्दै अध्यक्ष देवकोटाले सहकारी ऐन नियमलाई अध्ययन गरी व्यवस्थित तवरले सहकारी सञ्चालन गर्न आग्रह गरेका हुन् ।

‘दूग्ध क्षेत्रमा अवसरसँगै चुनौती पनि रहेका छन् ।’ उनले भने, ‘दूध संघले उद्योग स्थापना गरेको छ । अबको नयाँ सञ्चालक समितिलाई उद्योग सञ्चालन गर्न चुनौती रहेको छ । उद्योग सञ्चालनको लागि नीति निर्माण गर्नुपर्दछ ।’

यस्तै, मकवानपुर जिल्ला दूग्ध उत्पादक सहकारी संघमा नवनिर्वाचित अध्यक्ष हरिप्रसाद कडेँलले अग्रजको मार्गदर्शन अनुरुप आफू अगाडि बढ्ने प्रतिवद्धता जनाएका थिए ।

संघको निर्वाचन समितिका संयोजक ध्रुवप्रसाद चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचत सञ्चालक समिति र लेखा समितिलाई सोमबार प्रमाणपत्र प्रदान गरिएको थियो ।

संघको १० औँ अधिवेशनबाट अध्यक्षमा हरिप्रसाद कडेँल, उपाध्यक्षमा अर्जुनप्रसाद देवकोटा, महिला सदस्यमा सावित्रिदेवी तिमल्सिना, सरिता तिमल्सिना, खुल्ला सदस्यमा जनकप्रसाद रेग्मी, धनबहादुर कार्की, इन्द्रप्रसाद खतिवडा, कृष्णप्रसाद चौलागाई, हेमप्रसाद न्यौपाने, तिलकप्रसाद रेग्मी चयन भएका थिए ।

यसैगरी, संघको लेखा सुपरिवेक्षण समितिको संयोजकमा विरबहादुर गोले र सदस्यमा देवराज भण्डारी र खिलारत्न लामा चयन भएका छन् ।