हेटौंडामा मदिरा तथा लागूपदार्थविरुद्ध सरोकारवालाबीच अन्तरक्रिया
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबार मदिरा प्रयोगको न्यूनीकरण तथा लागूपदार्थ प्रयोगविरुद्ध सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रम भएको छ ।
कार्यक्रम हेटौंडा उपमहानगपालिकाका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेको अध्यक्षतामा सम्पन्न भएको हो ।
सिविन नेपाल मकवानपुर तथा हेटौंडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रम सिविन नेपाल काठमाडौंका प्रर्वद्धक ध्रुव गौतमले सहजीकरण गरेका थिए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री पालिका बनाउने, कुलतमा परेका बालबालिकालाई प्रस्तावना केन्द्रमा व्यवस्थापन गर्ने, लागूपदार्थ प्रयोगमा निषेधित गर्ने र मदिरा प्रयोगलाई न्यूनीकरण गर्ने विषयमा छलफल भएको सिविन नेपाल मकवानपुरका प्रमुख झविन्द्र ज्ञवालीले जानकारी दिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यलय, माइती नेपाल, मामाघर नेपाल, बार एसोशिएसन, लागूपदार्थ पूनस्र्थापना केन्द्रलगायत विभिन्न सामाजिक संस्थाका प्रमुुख तथा प्रतिनिधीको उपस्थिति रहेको थियो ।
