राक्सिराङमा पहिरोले पुरिएर चेपाङको मृत्यु
मकवानपुर । मकवानपुरमा पहिरोले पुरिएर र खोलाले बगाउँदा दुर्इ जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका – ६ मागेनीमा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४७ वर्षीय तोकबहादुर चेपाङ रहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।
प्रहरीका अनुसार लगातार परेको वर्षासँगै आएको पहिरोले घर बगाउँदा प्रजाको मृत्यु भएको हो । वर्षाका कारण सडक अवरुद्ध भएकोले घटनास्थालमा पुग्न नसकिएको र उद्धारमा समस्या भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।
त्यस्तै मकवानपुरको कैलाश गाउँपालिका–३ मा कालिखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षका दलबहादुर चेपाङ रहेका छन् । कालिका बजारबाट सामान किनेर घर फर्कने क्रममा खोलाले बगाएर उनको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
