दसैंको टीका र शिक्षक

हिडिम्बिका नगरी हेटौँडा साहित्यको राजधानी हो । मेरो आँखा अगाडि नै यो साहित्यको राजधानी बनेको छ र हेटौँडालाई साहित्यको राजधानी बनाउनमा विगतमा केही योगदान मैले पनि दिएको छु । सामान्यतया दसैंको विदामा पहिलेदेखि नै शिक्षालयहरु बन्द हुने भएकोले घर फर्किन्थें तर एक साल त्यस्तो हुन सकेन । कुराकानी साप्ताहिक निकाल्नुपर्ने जिम्मेवारी थियो । दसैं अंक निकाल्दा अलिकति विज्ञापन हुने । विज्ञापनको भरमा पत्रिका चल्ने अवस्था त अद्यपर्यन्त छँदैछ ।
दसैं अंकको पत्रिकामा दसैं सम्बन्धी खबर पनि र लेख–रचना पनि । लेख त नमागी शायदै आउँथ्यो तर साहित्य–शृङ्खला स्तम्भमा भने ऋतु र दिवस अनुकूलका रचनाहरु निकै आउँथे । कहिल्यै पनि चिन्ता भएन । साहित्य–शृङखलामा रचना राखिदिन कहिलेकाहीँ मानिसहरुले भन्दथे पनि । जहिले पनि रचनाको चाङ लागिरहन्थ्यो ।
म सम्पादक भइटोपलेको थिएँ पत्रिकाको । अरु क्षेत्रमा त के थियो, त्यत्ति थाहा भएन तर सोमवार साँझतिर हेटौँडा बजार निस्कने साहित्यकारहरुले भने एकचोटि कुराकानी साप्ताहिक अवश्य पल्टाएर हेरेका हुन्थे । लगभग सबै सर्जकको ध्यान तान्न सकेको थियो ।
अँ त, दसैंमा प्रेस बन्द हुन्छ त पत्रिका चाहिँ कसरी निकाल्ने ?यहाँ भन्न खोजेको के हो भने दसैं विदाको ठूलो हिस्सा हेटौँडामा नै बिताउन परेपछि मेला हेर्न त गाउँ जहिले फर्किँदानि भयो । एकपटक टीका हेटौँडामा नै बिताउने मनसाय भयो । अलिकति दाजु रामबाबु सापकोटाको पनि योगदान छ यसमा । रामबाबु सापकोटा त्यत्तिवेला आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा शिक्षक थिए र माध्यमिक तहमा नेपाली पढाउँथे । बिहान हेटौँडा स्कुल अफ म्यानेजमेन्टमा लेखा शाखामा कार्यरत थिए । हामी नजिक थियौँ । एक वर्ष हेटौँडाको टीका पनि हेर्नुहोस् भन्ने दाजुको भनाइ थियो ।
मेरो गाउँ (पुर्नी गेडही, रौतहट) को दसैं र चन्द्रनिगाहपुरको दसैंमा खासै मेल हुँदैनथ्यो । हामी मधेसी समुदायमा दसैंको टीका लगाउने चलन नै थिएन । नवमीको दिन मन्दिरहरुमा बलि प्रदान हुने तथा दशमीको दिन ब्राह्मणले घरघरै जमरा पु¥याउने वा भेटिएका व्यक्तिको कानमा सिउरिँदै वा टुपीमा बाँध्दै के के मन्त्रोच्चारण गर्दथे । अनि दिउँसो मेला हेर्न गइन्थ्यो । रमाइलो चाहिँ मेला र रातको भग्तइहुन्थ्यो । लंगौटिया साथीभाइसित केहीदिनको बसाइँको आनन्द नै अलग । यी सबलाई छाड्दै नयाँ अनुभूति हुने भयो दसैंको ।
हेटौँडाको दसैं धेरै हदसम्म चन्द्रनिगाहपुरको दसैंसित मेल खान्थ्यो । विश्वेश्वर अध्ययन आलोकको बोर्ड रहेको घरको पछाडि मधेसमा जस्तै दुर्गा प्रतिमा बनाएर मेला लगाइन्थ्यो तर यहाँको मेलामलाई कर्मकान्डीमात्र लाग्यो । मेलाको आनन्द जुन आफ्नो ठाउँतिर हो, त्यो चाहिँ पाइएन । भक्ति र पूजाभन्दा धेरै ध्यान कपडा तथा खानपानमा हेटौँडाको दसैं थियो । टीकाको दिन रमाइलो नै बेग्लै । चन्द्रनिगाहपुरमा हुँदा केही घरमा टीका थाप्न गइन्थ्यो तर यहाँ कसकहाँ जाने ?
टीका थाप्नको लागि बोलाउनु हुँदैन, आफैँ जानुपर्छ भनेर सुनियो । ओहो, म कसकहाँ जाऊँ ? सबैको निधार रातो हुँदै गएपछि मेरो घरभेटीले बोलाएर टीका लगाइ दिए, आशीर्वाद दिए । मैले पनि अरुको अनुकरण गर्दै ढोगें । मनमा अलिकति स्थानीय हिन्दुत्वभाव जागृत भयो ।
प्रश्नहरु त आइरहन्छन् नि । तपाईँहरु टीका लगाउनु हुन्न ? तपाईँहरुको टीका हुँदैन ? टीकाको दिन पनि किन निधार खाली ? यसपटक यत्तै ? उता दशैँ कस्तो हुन्छ ? यस पटक तपाईँहरुले टीका लगाउनु हुँदैन ? केहीभएको छ कि ? उत्तर अनेक हुन सक्छन् । उत्तर माग्नेको समय र आफूले उत्तर दिँदाको अवस्थामा आफ्नो परिस्थितिमा पनि भर पर्छ ।
अनि रामबाबु दाजुको घर गएँ । टीका थापें दाजु र भाउजूको हातबाट । मज्जाले खाना खाएँ । केहीबेर गफगाफ भयो । दाजुको टिभीमा चलिरहेको थियो अस्कर जितेको अंग्रेजी फिल्म – टाइटानिक । हेटौँडामा मेरा तीन किसिमका साथीहरु थिए वा छन् – शिक्षक, पत्रकार तथा साहित्यकार । जुन घरको घेराभन्दा बाहिर मलाई टीका लगाइएको थियो, त्यसका घरमूली रामबाबु दाजु शिक्षक र साहित्यकार हुन् । मैले हेटौँडा छाडेपछि दाजुको साहित्यिक गतिविधि शिथिल बन्यो ।
शिक्षकको सन्दर्भ आज किन उठाउन खोजिएको हो भने आज दशैँको टीकाको दिन विश्व शिक्षक दिवस परेको छ । विश्व शिक्षक दिवस भन्दा हाम्रो परिवेशमा टीका नै महत्वपूर्ण हो । आजको दिन हाम्रो परिवेशमा शिक्षक दिवसको औपचारिक कार्यक्रम गर्न सम्भव छैन तर पनि यो विशिष्ट दिन हो । आज शिक्षकको रुपमा पनि टीका लगाउनेहरु छन् । शिष्यको रुपमा टीका थाप्नेहरु पनि छन् । शिक्षक शिक्षकको मित्रतामा पनि टीका साटासाट हुन्छ । शिक्षक भएकै कारणले धेरै नाता गाँसिएका छन् र ती नाताहरुमा टीका लगाइन्छ ।
टीका र शिक्षक दिवसको आजको दिनसित जुन साइनो छ, सम्मायोग्य छ । विश्वले आफ्नै किसिमले शिक्षक दिवस मनाइरहँदा नेपाली शिक्षकले भने टीका लगाएर र देवी भगवतीसित आशीर्वाद लिँदै प्रसाद ग्रहण गरेर शिक्षक दिवस मनाइरहेका छन् । यो विश्वमै मौलिक किसिमको शिक्षक दिवस हुन गएको छ ।
विजया दसैं तथा विश्व शिक्षक दिवसको सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
(मकवानपुरको महक: शृङ्खला ९)