हेटौंडामा बस दुर्घटनाः २ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ आश्विन १७, सोमबार ०९:२२

मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ चुरियामाई मन्दिर नजिकैको खण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापाको दमक –५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षका दिल्लीबहादुर दर्जी र मोरङको बेलबारी नगरपालिका– ८ बस्ने ५१ बर्षीय कल्पना राजवंशी रहेको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

काठमाडौँबाट झापाको दमकलाई गन्तब्य बनाएर छुटेको ना ७ ख २०३२ नम्वरको बस गएराति आफैं अनियन्त्रित भई सडक छेउको नालीमा खसेको थियो ।

दुर्घटनामा परी बसमा सवार ३६ जना घाइते भएका छन् । घाइतेमध्ये ३० जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

घाइते २ जनालाई थप उपचारका लागी काठमाडौं र ३ जनालाई भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । १ जनाको भने हेटौंडाको सञ्चो अस्पतालमा उपचार भइरहेको छ ।