प्रदेश प्रमुखद्वारा प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी

तु खबर संवाददाता
२०७९ आश्विन १२, बुधबार १५:४३
file-photo

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले बुधबार एक वटा अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुख शर्माले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेकोे प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

प्रदेश प्रमुख कार्यालयका अनुसार, उनले नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट पारित भई आएको उक्त अध्यादेश जारी गरेका हुन् ।

अध्यादेशले प्रदेशभित्रको स्वास्थ्य तथा जनसंख्या सेवा सम्बन्धी काम कारवाहीलाई प्रभावकारी नियमन गर्न तथा नितीगत निर्देशनका लागि स्वास्थ्य मन्त्रीको अध्यक्षतामा प्रदेश स्वास्थ्य तथा जनसंख्या समिति गठन हुने व्यवस्था गरेको छ ।

त्यस्तै, अध्यादेशले प्रदेश सरकार मातहतका अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्रकालागि छुट्टाछुट्टै स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति गठन हुने व्यवस्था गरेको छ ।

अध्यादेशले यसअघिको प्रदेश सरकारबाट जारी ‘‘प्रदेशभित्रका अस्पतालको संचालन र व्यवस्थापन आदेश, २०७५’’ लाई खारेज गरेको छ ।