आमा !
विश्वमा नै प्रतिष्ठित एक अन्तर्राष्ट्रिय संस्थाले आफ्नो कार्यालयमा जागिरको लागि विश्वव्यापी आवेदन माग गर्यो । मास्टर डिग्रीसम्म अध्ययनको मार्कसिट, निरोगिताको प्रमाणपत्र, प्रहरी रिपोर्ट, आफ्ना रुचीहरु, अन्तरनिहित क्षमता लगायतका विषयहरु समावेश गरी आवेदन माग भएको थियो । त्यहाँ काम गर्न इच्छुक र योग्यता पुगेका सयौँको संख्याले निवेदन पेस गरे ।
बोर्डको आन्तरिक मूल्याङ्कन समितिले ती मध्येबाट उत्कृष्ठ पाँच जनालाई अन्तर्वार्तामा समावेश गर्यो । अन्तर्वार्ता भर्चुअल माध्यमबाट गरिने निर्णय भयो । अन्तर्वार्ता निर्धारित समयमा सुरु भयो र एकै साथ सबैलाई समावेश गरेर अन्तर्वार्ताकारले कार्यालयमा गर्नुपर्ने कामहरुका विषयमा जानकारी दिन थाल्यो ।
सबै उत्साहित भएर उसको कुरा सुनिरहे । अन्तर्वार्ताकारले पहिलो कुरा राखे – यस काममा वर्षको कुनै दिन पनि छुट्टी हुने छैन । आवेदकहरुले कौतुहलतका साथ सुनेर बसिरहे, कोही केही बोलेनन् । त्यसपछि अन्तर्वार्ताकारले अर्को कुरा राखे – यस काममा तिम्रो दिनको यति घण्टा भनेर ड्यूटी निर्धारण गरिएको हुँदैन । तिमी सोच तिम्रो काम चौबिस घण्टाकै हुनेछ । आवेदकहरु दंग परे र सोचिरहे, काम कसरी गर्ने ? वर्षभरी कुनै दिन पनि छुट्टी छैन र दिनमा काम चौबिस घण्टा नै छ । तरपनि उनिहरु चुप लागेर सुनिरहे ।
अन्तर्वार्ताकारले थप्दै गए – तिमीमा औषधिहरुको ज्ञान र प्राथमिक उपचारको बारेमा जानकारी हुनुपर्नेछ । तिमीमा राम्रो बास्तु ज्ञान हुनेपर्नेछ । तिमीमा धैर्यता र सबैलाई सम्मान र माया गर्नसक्ने क्षमता हुनपर्यो । तिमीमा पिडा, भोक र तिर्खा सहनसक्ने क्षमता हुनुपर्यो । तिमीमा एउटा कुकदेखि सरसफाईसम्मको पूर्ण ज्ञान हुनु पर्दछ । तिमीमा अनुशासनको कडा कडी हुनेछ र तिमीलाई चाहेको बेला बाहिर निस्कन या काम ठग्न पाउने छुट हुदैँन । तिमीले थकान दबाउन सक्नुपर्छ । र, सधैँ कार्यस्थलमा खटिनु पर्नेछ, तिमीलाई गुनासो गर्ने र असन्तुष्टी पोख्ने छुट हुने छैन । तिमीले चाड पर्वको समयमा साविकको भन्दा थप कामहरु गर्नु पर्नेछ । यति काम गरेर पनि हामी तिमीलाई तलब चाँहि दिन सक्दैनौँ ।
यति कुरा राखेर अन्तर्वार्ताकारले आवेदकलाई सोध्यो – के तपाईं राजी हुनुहुन्छ ? सबै जना मौन भए । एक महिला आवेदकले भनिन् – तपाईं यो सब बकवास कुरा गरिरहनु भएको छ । यदि यथार्थमा यी सब कामहरु म एक्लैले गर्नुपर्छ भने मबाट यो सम्भव छैन । अर्का एक पुरुषले भने – यति धेरै काम गर्दा पनि तलब छैन भने काम छैन, मलाई रिजेक्ट गरिदिनुहोला । अर्को एक जना महिलाले भनिन् – यी सब कुराहरु जुन तपाईं भनिरहनु भएको छ । यो सब गर्न सक्ने र यति धेरै विषयमा ज्ञान हुने मानिस सायदै होलान् । तपाईंले भगवान भेट्टाउन सहज होला तपार्इंले यस्तो मान्छे भेट्न सक्नुहुन्न ।
सबै जना ‘अन्तर्वार्ताकारले बकवास कुरा गरिरहेको छ जुन कसैले गर्न सक्दैन त्यो काम हामीबाट अपेक्षा गरिरहेको छ’ भन्ने सोचेर उसलाई एक स्वरमा प्रतिप्रश्न गरिरहे । अर्का एक आवेदकले भने – के यस्तो काम गर्ने मानिस यो संसारमा छन् ? अन्तर्वार्ताकारले मुस्कुराउदैँ जवाफ दिए – करोडौँको संख्यामा छन् । तब आवेदकहरु झस्किए ।
अन्तर्वार्ताकारले उनीहरुकोे मौनतालाई चिर्दै भने – तिमीहरुको घरमा समेत एकजना त्यही जागिरमा वर्षौँदेखि छिन् । एक्कासी माहोल भावविह्वल भयो । सबै आवेदकहरुको आखाँमा आशुँ छछल्किन थाल्यो ।उनीहरु हातले मुख थुनेर आफ्नो स्वरलाई बन्द गर्न खोजिरहेका थिए । – आमा , एकसाथ केही आवेदकहरु रुन थाले ।
अन्तर्वार्ताकारले माहोललाई शान्त बनाउदैँ भने ‘आज मदर्स डे, यसकारण मैले अन्तर्वार्ताको सुरुमा तिमीहरुलाई तिमीहरुको आमाको स्मरण गराएको । आमा कति महान् हुनुहुन्छ र उहाँहरुको के कस्तो भूमिका छ भन्ने विषयको ज्ञात मात्रै गराएको हुँ, सबै आमाहरुको सम्मानमा ह्याप्पी मदर्स डे ।’ वातावरण एक्कासी मौनतामा हरायो ।
अन्तर्वार्ताकारले माहोललाई आफुतिर आकर्षित गर्दै भने – ओके, अब सुरु गरौँ इन्टरभ्यू ।
