म्यादी प्रहरीमा भर्ना हुन २ लाख ३२ हजारको आवेदन दर्ता
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षामा म्यादी प्रहरीमा भर्ना हुन २ लाख ३२ हजार ८८ जनाले आवेदन दर्ता गराएका छन् । देशभरबाट २ लाख ३२ हजार ८८ जनाले म्यादी प्रहरी बन्न आवेदन दर्ता गराएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
म्यादी प्रहरीमा भर्ना हुन १ लाख ७१ हजार ७१८ जना पुरुष र ६० हजार ३७० जना महिलाले आवेदन दिएका छन् । प्रहरी प्रधान कार्यालयले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त संकलन गरेको थियो । दरखास्त दिनेहरु मध्येबाट १ लाख १५ हजार म्यादी प्रहरी छनोट हुन्छन् ।
असोज ९ बाट म्यादी प्रहरीको छनोट सुरु हुन्छ । छनोट भएका म्यादी प्रहरीले ४० दिन सरकारी सेवा गर्नेछन् । सो अवधिमा उनीहरुले तलव र रासन बापत ४१ हजार ९६० रुपैयाँ पाउँछन् ।
म्यादी प्रहरीले गाडी भाडा बापत १ हजार रुपैयाँ भत्ता स्वरुप पाउँछन् । निर्वाचन क्षेत्रमा आउन र जाने खर्चका लागि अर्थ मन्त्रालयले १ हजार भत्ता दिने निर्णय गरेको छ । तलब बापत म्यादी प्रहरीले ४० दिनमा ३४ हजार ७६० रुपैयाँ पाउँछन् ।
हिमाली जिल्लामा भने रासन सुविधा त्यहीँको दररेट अनुसार पाउनेछन् । रासन बापत एकमुष्ट ७ हजार २ सय रुपैयाँ उपलब्ध गराउन अर्थ मन्त्रालयले स्वीकृति दिएको जनाइएको छ । कपडा किन्न म्यादी प्रहरीले ६ हजार रुपैयाँ पाउँछन् । म्यादीले ६ हजार भित्रबाट दुई जोर डांग्री, जुत्ता, दुई जोर मोजा, टोपी र सिट्टी कर्ड किन्नुपर्छ ।
