स्ववियुको निर्वाचन मिति र कार्यतालिका सार्वजनिक गर्न बैठक बस्दै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मिति र निर्वाचन कार्यतालिका सार्वजनिक गर्न मंगलबार त्रिवि विद्यार्थी कल्याण परिषद्को पहिलो बैठक बस्दैछ ।
विद्यार्थी संघसंगठनहरूसँग अनौपचारिक छलफल भइसकेको जानकारी दिँदा परिषद्का सदस्य सचिव एवम् विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले नेपाल समाचारपत्रलाई फागुन १४ मै गर्नेगरी कार्यतालिका सार्वजनिक गर्ने स्पष्ट पारे ।
उनका अनुसार बैठकले निर्वाचनको कार्यतालिका तयारीका विषयमा छलफल गर्न विद्यार्थी संघ संगठनलाई औपचारिक पत्राचार गर्ने लगायतका विषयमा निर्णय गर्नुका साथै बैठकपछि त्रिविले सुरक्षा निकाय र दलका नेता लगायतसँग छलफल गर्ने तयारी थाल्नेछ।