मकवानपुरमा खोलामा डुबेर एक बालकको मृत्यु
मकवानपुर । मकवानपुरमा आज सोमबार दिउँसो खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ । जिल्लाको बकैया गाउँपालिका वडा नम्वर ४ बाममारास्थित ल्वाजोर खोलामा नुहाउने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सोही वडाका बस्ने बिष्णुबहादुर खत्रीको भान्जा चितवनको भरतपुर महानगरपालिका–१६ फुर्तिचोकका कृष्णबहादुर थापाको १६ वर्षीय छोरा सचिन थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, दिउँसो १२ बजेर ४५ मिनेटको समयमा थापा ल्वाजोर खोलामा डुबी घाइते भएका थिए । घाइते उनलाई तत्काल प्रहरी चौकी हात्तिसुँडेबाट प्रहरी टोली खटेर उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी छतिवन लगिएको थियो ।
छतिवनमा उपचार पश्चात् थप उपचारको लागि हेटौंडा–११, चुरेहिल अस्पताल ल्याएकोमा चिकित्सले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उनको शव हाल चुरेहिल अस्पतालमै रहेको जनाइएको छ ।
