‘प्रदेश सरकारलाई क्रियाशील तुल्याउन जनप्रतिनिधिहरु इमान्दारितापूर्वक लाग्नुपर्ने’
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको माध्यमबाट प्रदेश सरकारलाई क्रियाशील तुल्याउन जनप्रतिनिधिहरु नै इमान्दारितापूर्वक लाग्नुपर्ने बताए ।
शनिबार प्रदेशसभाद्वारा हेटौंडामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले सो कुरा बताएका हुन् । उनले कुनै दलगत समूह वा नागरिकले प्रदेशको आलोचना गर्दैमा आत्माग्लान गर्नु नपर्ने र संघीयतालाई दरिलो पार्न जनप्रतिनिधिहरु नै इमान्दारी हुनुपर्ने उल्लेख गरे ।
उनले मुलुकको संविधानको मर्मको साथै संघीयतालाई दिर्घकालिन रुपमा उज्ज्वल बनाउन राजनीतिक दलका नेतृत्वहरुले आ–आफ्नो स्वार्थलाई त्यागेर इमान्दारिपूर्वक देश र जनताप्रति जवाफेही हुनुपर्ने बताए ।
प्रदेशसभाले आफ्नो स्थापना कालमा शुन्यबाट सुरु गरेर अहिले प्रदेशको १३ वटै जिल्लामा सुशासन भ्रष्टाचार नियन्त्रण गर्ने अभियान संचालन गरिएको र जनतालाई आर्थिक आत्मनिर्भर बनाउँदै विकासको पूर्वधारलाई सन्तुलित रुपमा जनताको घरदैलो पुर्याएकोमा प्रदेश सभाका सदस्यहरुले आत्मा गौरब गर्नुपर्ने उनले बताए ।
