अछाम पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २२ पुग्यो

तु खबर संवाददाता
२०७९ आश्विन १, शनिबार १५:५७

धनगढी । अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २२ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा ढकारी गाउँपालिका–६ बस्ने २ वर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका– ५ बस्ने १७ वर्षीया जानकी शाही, सोही गाउँपालिकाका १७ वर्षीया बिमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीया मनिषा शाही, १७ वर्षीया कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, १ वर्षीया मेनिका शाही, ३ वर्षीया कल्पना शाही, २१ वर्षीया भावना शाही रहेका छन् ।

यसैगरी, कमल बजार नगरपालिका–६ बस्ने ३० वर्षीया अमृता कामी, १७ वर्षीया समिता कामी, २१ वर्षीया अर्धना कामी, ९ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी, १२ वर्षीया सिरु कामी रहेका छन् भने कमलबजार नगरपालिका–८ ढुङ्गला बस्ने २६ वर्षीय गम्भीर दमाई, २३ वर्षीय भाना दमाई, ६ वर्षीय डिग्रा दमाई, ३ वर्षीय कलु दमाई, ४ वर्षीया कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

पहिरोमा परेर ११ जना घाइते छन् । यस्तै, पहिरोमा परेर घाइते भएका ११ जनाको उद्दार गरिएको छ । उनीहरुमध्ये ८ जनाको जिल्ला अस्पताल अछाम र ३ जनालाई थप उपचारका लागि हेलिकोप्टरमापर्फत सुर्खेत प्रादेशिक अस्पतालमा पठाइएको छ ।

अविरल वर्षापछि अछाममा ठूलो जनधनको क्षति गरेपनि विस्तृत विवरण प्राप्त भइसकेको छैन । अहिले बेपत्ताहरुको खोजी र घाइतेको उद्दारको काम भइरहेकाले क्षतिको विवरण संकलन गर्न नसकिएको स्थानीय प्रशासनले जनाएको छ ।