आज विश्वकर्मा पुजा गरिँदै

तु खबर संवाददाता
२०७९ आश्विन १, शनिबार ०८:३१

मकवानपुर । आज आश्विन सङ्क्रान्तिका दिन कालिगढले विश्वकर्माको पूजा आराधना गरी यो पर्व मनाउँदै छन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वागमती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगेर सेलाउने गरिन्छ । आज पूजा गरी शनिबारदेखि नदीमा लगेर मूर्ति सेलाइन्छ ।

नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पूरा गरेर विश्वकर्माको पूजा आराधनाको तयारी गरिएको जनाइएको छ । आजका दिन कालिगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बिचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

आजको दिन फलामको सामग्री, विभिन्न उपकरणको सरसफाई तथा पुजाआजा गर्ने र पारिवारिक रुपमा भेटघाट गरी खुसीयाली साटासाट गर्ने परम्परा समेत रहेको छ ।