मन्त्रिपरिषद् बैठक : शनिबार राति १२ बजेबाट संसद अधिवेशन अन्त्य गर्ने निर्णय
काठमाडौं । सरकारले भोलि असोज १ गते शनिबार राति १२ बजेबाट संसदको अधिवेशन अन्त्य गर्न निर्णय गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए ।
यसअघि राजनीतिक दलहरुबीच संसदको कार्यकालबारे विवाद हुदै आएको थियो । सत्तापक्षले अर्को निर्वाचन भएर निर्वाचित संसदको पहिलो बैठक नबस्दा सम्म यही संसदको कार्यकाल रहने पक्षमा वकालत गर्दै आएको थियो भने प्रमुख प्रतिपक्ष नेकपा एमालेले निर्वाचन प्रक्रिया सुरु हुनुभन्दा अघिल्लो दिन नै कार्यकाल सकिनुपर्ने बताउदै आएको थियो ।
यसबारे सरकारले कानून संशोधन गर्न संसदमा विधेयक लगेपछि प्रतिपक्ष दल र नागरिकस्तरबाट समेत विरोध भएपछि सरकार यही असोज १ गते संसदको कार्यकाल तोक्न बाध्य भएको थियो । शनिबार प्रतिनिधिसभाको अन्तिम बैठक बसेर सांसदहरुलाई भोजसहित विदाई गर्ने संसद सचिवालयको तयारी छ ।
