मकवानपुरमा ३४९ जनाले दिए म्यादी प्रहारीका लागि आवेदन

तु खबर संवाददाता
२०७९ भाद्र ३०, बिहीबार १८:३०
तस्वीरः जिल्ला प्रहरी कार्यालय मकवानपुर

मकवानपुर । मकवानपुरमा म्यादी प्रहरीका लागि आवेदन खुल्ला गरिएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरमा आजबाट म्यादी प्रहरीको आवेदन खुल्ला गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार म्यादी प्रहरीका लागि आवेदन खुल्ला गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, आवेदन खुल्ला भएको आज पहिलो दिन ३४९ जनाले आवदेन दर्ता गराएका छन् । जसमा २२७ जना पुरुष र १२२ जना महिला रहेका छन् ।

इच्छुक व्यक्तिले आगामी असोज ६ गतेसम्म आवेदन दिन सक्नेछन् । दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ ।

आवेदक दरखास्त फारम दिन १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने, नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेको हुनुपर्नेछ ।

यसैगरी, आतङ्ककारी संगठनको सदस्य नरहेको, आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको, पुरुषको हकमा घटीमा उचाइ ५ फिट २ इन्च, छाती ३१–३३ इन्च, तौल ५० केजी र महिलाको हकमा घटीमा उचाइ ५ फिट, तौल ४२ केजी भएको तथा गर्भवती नभएको हुनुनपर्नेछ ।